चेल्सी र लिभरपुल बराबरीमा रोकिए
उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन्।
लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरेका थिए। चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले १/१ गोल गरे।
खेलको २६ औं मिनेट भित्र २-० ले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले खेललाई बराबरीमा ल्याएको हो।
खेलको नवौ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
यस्तै कोभाकिकले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउँदा पुलिसिकले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २-२ गोलको बराबरीमा ल्याए।
खेलमा ५६ प्रतिशत बल पोजिशन राखेपनि चेल्सीले थप गोल गर्न सकेन। लिभरपुल खेलमा फर्कन सकेन। अन्तत खेल बराबरीमा सकियो।
योसँगै लिगको दोस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेल्दै ४२ अंक जोडेको छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ।