मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : उद्योगमन्त्री बडू
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताउनु भयो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।
मन्त्री बडूले सरकार जनताको हीत र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।