भाडाका ११ भवनमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका, आफ्नो भवनमा कहिले ?
जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रध्यापक चिकित्सक बस्ने भवन, अध्ययन अध्यापन भवन, होस्टेल, आधारभुत चिकित्सा विज्ञान भवन समेत भाडामा लिनु परेको बताउनुभयो ।
यही समस्याबारे उहाँले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको ध्यानाकर्षण पनि गराउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानलाई आवश्यक भौतिक संरचना निर्माण गर्न बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ । सरकारको पूर्ण सहयोग आवश्कता छ ।’ स्वास्थ्य सेवा, एकडेमी र अनुसन्धानतर्फ संस्थाले आशाका किरण देखाएको छ । हाइअल्टिच्यूटका आधारमा विश्वको सबैभन्दा उच्च स्थानमा पेरुको अस्पताल छ त्यसपछि दोस्रो स्थानमा यही जुम्लाको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन गर्न जुम्ला आएको बेला प्रतिष्ठानका उपकुलपति डा. रावलले यस्तो आग्रह गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले प्रतिष्ठानको आग्रहलाई स्वीकार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको वृत्ति विकासमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी, सचिवसहितको टोलीले प्रतिष्ठानको स्वास्थ्य सेवा, चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन विभिन्न फ्याकेल्टिको अनुगमन गरी सुझाएको रजिष्टार निर्पेन्द्र महतले बताउनुभयो ।