विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
काठमाडौं । डेभन कन्वे र रचिन रवीन्द्रको उत्कृष्ट शतकमा न्युजिल्यान्डले एकदिवशीय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि फराकिलो जीत हात पारेको छ ।
इङ्ल्याण्डले दिएको २ सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा मात्रै १ विकेटको क्षतिमा पूरा गर्यो।
न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे । कन्वेको यो ओडिआई करिअरको पाँचौं र उत्कृष्ट प्रदर्शन हो ।
अर्का युवा अलराउन्डर रचिन रवीन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए । रवीन्द्रको यो पहिलो शतक हो ।
ओपनर विल योंग साम करनको बलमा शून्यमै जस बटलरबाट क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्डले १० रन जोडेको थियो ।
त्यसपछि कन्वे र रवीन्द्रले २ सय ७३ रनको दोहोरो शतकीय अविजित साझेदारीका साथ सहज जित पक्का गराए। साम करनले ६ ओभरमा २ मेडनसहित ४७ रन खर्चेर १ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन । इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर जो रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए ।
रुट स्पिनर ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । रुट बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । राम्रो सुरुवात गरेपनि ठूलो सर्टको चक्करमा विकेट लगातार गुमाएका थिए ।
ओपनर जोनी बेयरस्टो ३५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर डेविड मलान १४, ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट भए । आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।
न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
इंग्ल्यान्डले अव मंगलबार बंगलादेशसँग धर्मशालामा खेल्नेछ । न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ । शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।