‘धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्नु आवश्यक छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देशमा बढ्दै गएको अराजकतालाई समयमा नै नियन्त्रण गर्नु जरुरी रहेको बताएका छन् ।
स्थानीय सरकार अपेक्षा र अवस्था, विषयका पुस्तक विमोचन कार्यक्रममा उनले स्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको केसीले बताएका छन् ।
उनले भने, ‘सामाजिक ऐन कानूनले रोकेका कुराहरू, मैले आए भनेर प्रचार गर्नुपर्ने आवश्यकता छैन् । त्यहीबाट द्वन्द्व सुरु भयो, एउटा धर्मवालाले अर्को धर्मको पुस्तक जलाएर देखाउँछ । त्यो बेला सरकार के हेरेर बसेको थियो । हामी स्वधर्ममा विश्वास गर्छौ, सबै धर्ममा विश्वास गर्छौ । यो जुन खालको अराजकतालाई समयमा नै नियन्त्रण नगर्ने काम अहिले राष्ट्रिय परिस्थिति देखिएको छ । यसले अर्को खालको अराजक अवस्था सिर्जना भएको छ । त्यतातर्फ ध्यान जानुपर्छ ।’
यस्तै, केसीले निर्वाचित जन प्रतिनिधिहरूले जनतामा भएको असन्तुष्टिको कारक सत्व पत्ता लगाएर त्यसको समाधान खोज्न आवश्यक भएको बताए । उनले भने, ‘निर्वाचित जन प्रतिनिधिहरूले जनतामा भएको असन्तुष्टिको कारक सत्व के हो । त्यसलाई हाम्रो आफ्नो क्षमताले कति सम्म निराकरण गर्न सक्छौ, राज्यले के गर्न सक्छ त्यो तर्फ गम्भीर हुन सकिएन भने आउँने दिन चुनौतीपूर्ण र अप्ठ्यारो छ । यसलाई समयमा नै सबै राजनीतिक दलहरूले पूर्वाग्रहभन्दा माथि उठेर कारबाही गर्ने कुरामा दृढतापूर्वक लाग्न राष्ट्रिय आवश्यकता छ ।’