दुर्गा प्रसाईंका समर्थकको मुख थुन्दै सरकार
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूलाई प्रहरीले ज्यादती गर्न थालेको छ । तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटेलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । प्रशासनको अनुमति विना तीनकुनेमा आन्दोलन गर्न खोजेको भन्दै प्रहरी सर्वसाधारणमाथि नै दमन गर्न थालेको हो । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रदर्शन गरिरहेका छन् । तर जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ । तीनकुनेमा ४र५ जनाको समूह बन्ने बित्तेकै तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ । तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधारण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ । आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन् । प्रहरीसँग विवाद गर्यो कि उसले भ्यानमा हालिहाल्छ ।तीनकुने क्षेत्रमा रहेका चिया पसलहरूमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ । कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधारणलाई त्रसित बनाएको छ । प्रहरीले तीनकुने क्षेत्रबाट २६ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
गणतन्त्रमा बोल्न पाइन्न ?
विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो । संविधानको धारा २७ ले पनि यसलाई प्रत्याभूत गरेको छ । तर यसको प्रतिरक्षाको लागि खटिनुपर्ने जिम्मेवार पक्षहरू यस हकका विरुद्ध उत्रिन्छन् भने त्यसले संवैधानिक प्रावधानलाई कमजोर तुल्याउनेछ लोकतन्त्रमा कसैको विचार तथा अभिव्यक्तिप्रति असहमति प्रकट गर्न पाइन्छ तर आफूलाई मन नपर्ने विचार बोल्नै नपाउने वा बोल्नै दिन्न भन्न पाइन्न । कसैले त्यस्तो भन्छ भने त्यसलाई लोकतान्त्रान्त्रिक मूल्य र मान्यताको खिलाफ मानिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीको दमन लोकतान्त्रिक हिसाबले पनि ठिक छैन । शान्ति सुव्यवस्थाका हिसाबले यो कसैको हितमा छैन । प्रत्येक विचार राख्न पाउने, फुल्न र फल्न पाउने हक प्रत्याभूत गर्ने विषय नै लोकतान्त्रिक शासन व्यवस्थाको एउटा विशेषताको रूपमा लिइन्छ । त्यसरी अभिव्यक्ति गरिएका शासन व्यवस्थाविरुद्ध नै किन नहोस्, शान्तिपूर्णता भेला भएर त्यसलाई राख्न दिनुपर्दछ र राख्न पाउनुपर्दछ । अहिलेको शासन व्यवस्थामा विकृति–विसङ्गतिहरू प्रशस्तै छन् । राज्य संयन्त्रमा बिचौलियाको पकड मौलाएको र भ्रष्टाचारले जनताको जीवन कष्टकर बन्दै गएको छ । नेपालमा भविष्य नभएको भनी प्रत्येक दिन हजारौँ युवाहरू बिदेसिनुपरेको छ । यस्तो अवस्थामा व्यवस्था विरोधको आन्दोलनमा दुर्गा प्रसाईँ मात्र होइन, व्यवस्थाका पक्षधरहरू पनि उत्रिनुपर्ने स्थिति छ । यस्तो अवस्थामा संविधानको उपलब्धिको बलियो कार्यान्वयन, राज्य संयन्त्रलाई जनमुखी, जनताका पिर मर्काप्रति संवेदनशील बनाउने, सेवा प्रवाहलाई चुस्त बनाउने कार्यले मात्र व्यवस्थालाई बलियो बनाउनेछ ।