यस्तो छ हिरोले हालै नेपाल ल्याएको एक्स्ट्रिम १६० आर फोरभी
काठमाडौं । सिजी मोटर्सले हालै हिरोका दुई नयाँ मोटरसाइकल लन्च गरेको छ । यी दुबै मोडल युवा राइडरलाई लक्षित गरी डिजाइन गरिएको हो । स्पोर्टी लुक्स र आधुनिक फिचरले सुसज्जित यी मोटरसइकलमा थुप्रै ’फर्स्ट–इन–क्लास–सेग्मेन्ट फिचर’ समेत दिइएको छ ।
यी दुई मोटरसाइकलमध्ये एक्स्ट्रिम १६० आर फोरभीमा १६३ सीसी फोर भल्व बीएस६ इन्जिन जडान गरिएको छ । जसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्दछ । यो मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो ।
एक्सट्रिम १६० आरमा ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शन जडान गरिएको छ । जसले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलोग्राम तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गराइएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प पाउन सकिन्छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।
यो नयाँ मोटरसाइकलमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पिडोमिटर, गियर पोजिसन इन्डिकेटर र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गराइएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज बनाउने देखिन्छ ।
निकै नै प्रतिस्पर्धी मुल्यमा लन्च गरिएको एक्सट्रिम १६० आरलाई सिजी मोटर्सले ३ लाख ८५ हजारमा बिक्री गर्ने जनाएको छ । यो नयाँ मोटरसाइकलले टिभिएस अपाचे आरटिआर १६० संग सिधा प्रतिस्पर्धा गर्नेछ ।