लोडसेडिङ हुने चरणमा छैन : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन् ।
कार्यकारी निर्देशक घिसिङले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् । उनले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत् आयात गर्न नदिएको कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको बताए ।
धेरै विद्युत् खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उनको भनाइ छ । उनले ४५६ मेगावाट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए । उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ ।
कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको बताए ।
अन्य ग्राहकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत् कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत् उत्पादन नहुनु नै रहेको बताए ।
उद्योगहरूमा भइहरेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे ।