सुदूरपश्चिम एनपिएलको फाइनलमा
काठमाडौँ । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि १ सय ४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।
सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । सैफ जैबले ३२ रनको योगदान दिए । ब्राण्डन मक्मुलनले २५ रनको योगदान दिए ।
कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा नट आउट रहे । ओपनर विनोद भण्डारी पनि ५८ रनमा नट आउट रहे ।
बलिङमा भने ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो ।
जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन जोडे । शुभ कंसाकारले २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठाकरले समान १२–१२ रन बनाए ।
आसिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए । मोहम्मद मोहसिन र शेर मल्लले समान ३–३ रन बनाए ।
आकाश त्रिपाठी ४ रनमा नट आउट रहँदा किशोर महतोले २ रनको योगदान दिए ।
बलिङमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सैफ जैबले २ विकेट लिए । स्कट कुग्गेलिजन र अभिनाश बोहराले समान १–१ विकेट लिए ।
बिहीवार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिम उपाधिका लागि शनिवार खेल्नेछन् ।