निलो क्रान्तिको पुष्प भ्रूणमै एड्स !
कोही कसैको घण्टी ६४ मा नयाँ जान्ने हुँदा कटवालले बजाइदिए
कसैका घण्टी मन्त्री हुन खोज्दा अडियो टेप मार्फत बजाइदिए
घण्टीको घण्टे टाउको सहकारीको अपचलनले बजाई दिइरहेछ
जे होस नयाँ घण्टी कारागार, हिरासत र चोक चोकमा बजिरहेछन्
त्यो रूखबाट बनेको बिँडले जब बन्चरोलाई साथ दियो
त्यो बन्चरोले हजारौँ हजार रुखहरूलाई काटिदियो
रावण कम कहाँ थियो र उ पनि ढल्न बाध्य भयो
जब उसकै भाइले उसलाई छोडी श्रीराम तिर हात दियो
तिमीलाई थाहा छ घमन्ड मन पर्दैन मलाई
कोही किन नहोस् उद्दण्ड मन पर्दैन मलाई
र्यापरवाला बालेन शाह अच्छा छन्
सधैँ धम्की दिने ती मेयरसाब मन पर्दैनन् मलाई
डोजरको आतङ्क लौ हेर्, गरिबको ठेला गाडीमा पस्यो
प्रकृतिलाई तिमीले छुरा धस्यौ, प्रकृतिले तिमीलाई डस्यो
काठमाण्डौँका घरघरमा खोला पस्यो भन्छन् मान्छे
मत भन्छु काठमाण्डौँको खोला खोलामा घर पस्यो
व्यापारीको घण्टी कर–कार्यालयमा बज्दछ
ठगी, अपचलनको घण्टी अदालतमा बज्दछ
चोर, डाका र झगडियाको घण्टी प्रहरीकहाँ बज्दछ
मन्दिरको घण्टी देवतासामु बज्दछ
बदनामहरूको बस्तीमा इमान कति दिन बिक्छ हेरौँला हामी पनि
सत्यलाई असत्यले कहिले सम्म जित्छ हेरौँला हामी पनि
दुई भाग हाइड्रोजनमा एक भाग अक्सिजन मिले पो पानी बन्छ
सर्प, भ्यागुता र बिच्छीको गठबन्धन कति दिन टिक्छ हेरौँला हामी पनि