‘साइबर सुरक्षा सम्मेलन २०२५’ नेपाल इन्जिनियरिङ कलेजमा आयोजना हुने
काठमाडौँ । ‘साइबर सुरक्षा सम्मेलन २०२५’ नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा आयोजना हुने भएको छ ।
नेपाल–कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजको आयोजनामा हुने सम्मेलन आगामी पौष २३ गतेबाट सुरु हुने छ ।
यस विशेष कार्यक्रमले साइबर सुरक्षाका क्षेत्रहरूबारे ज्ञान आदानप्रदान गर्ने, नवीनतम प्रविधि र चुनौतीहरूबारे छलफल गर्ने र विद्यार्थी, व्यावसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू साथै केन्द्रीय सरकार देखि स्थानीय सरकारलाई एकै ठाउँमा ल्याउने उद्देश्य राखेको समाजका अध्यक्ष कोमल अधिकारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख आकर्षणहरूः
प्रवेश व्याख्यान : प्रख्यात साइबर सुरक्षा विशेषज्ञहरूद्वारा सत्र
प्यानल छलफल : साइबर अपराध, डाटा संरक्षण, र डिजिटल सुरक्षामा नयाँ समाधानहरूमाथि विस्तृत चर्चा
कार्यशाला : डिजिटल सुरक्षा उपाय, ह्याकिङको रोकथाम, र व्यावहारिक समाधानमाथि केन्द्रित प्रशिक्षण
यस कार्यक्रमलाई सफल बनाउन, डिजाइन/सम्पादन टोली, सामाजिक सञ्जाल व्यवस्थापक, कार्यक्रम स्वयंसेवक/सम्भालक, होस्ट, र प्यानल छलफलको संयोजक जस्ता विभिन्न भूमिकाका लागि विद्यार्थीहरू सक्रिय रूपमा संलग्न हुनेछन् ।
कार्यक्रमले साइबर सुरक्षाको महत्त्वमाथि प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित इन्टरनेट अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यसले विद्यार्थीहरूलाई व्यावसायिक व्यक्तिहरूसँग नेटवर्क बनाउन, नयाँ ज्ञान हासिल गर्न, र व्यावहारिक अनुभव जुटाउन सहयोग पु¥याउनेछ ।
कार्यक्रममा विद्यार्थी, प्राध्यापक, आइटी व्यावसायिकहरू, साइबर ब्युरोका प्रतिनिधिहरू, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसहित साइबर सुरक्षामा चासो राख्ने व्यक्तिहरू सहभागी हुने छन् ।