भानु नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण
काठमाडौं । तनहुँको भानु नगरपालिकाले पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ ।
नगरपालिकाले नगरवासीको सहजताको लागि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
नगरपालिकाले सबै वडाहरूमा पालैपालो राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको पहलमा पहिलो पटक नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।
नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने भएपछि नगरवासी खुसी भएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमा लामो लाइन लागेर पनि राष्ट्रिय परिचयपत्र पाउन नसकेका नागरिकले अब पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने भएका हुन् ।
पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य गरिएको हो ।
राष्ट्रिय परिचयपत्र लिन स्वयं व्यक्ति नै उपस्थित भएर बायोमेट्रिक गराएर रुजु गरेर मात्र लैजान सकिने पालिकाले जनाएको छ ।
परिवारको अन्य सदस्य, आफन्त, छिमेकी वा अरू व्यक्ति लिन आएर परिचयपत्र लैजान नपाइने जनाइएको छ ।
परिचयपत्र लिन आउँदा अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन रुजु फाराम लिएर आउनुपर्ने पालिकाले जनाएको छ ।