भूकम्पबारे नेपाली अधिकारीहरू को भनाइ
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चीन केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ । मंगलबार बिहान नेपालमा महसुस हुने गरी गएको भूकम्पको केन्द्रबिन्दु नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको हो ।
केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा पर्ने लोबुचेभन्दा १२५ किलोमिटर उत्तरपूर्वमा थियो । बिहान ६ः५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बताइन् । उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि भौतिक वा मानवीय क्षतिको विवरण आइसकेको छैन । ‘भूकम्प ठूलै आएको महसुस भयो । म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन । लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ,’ विश्वकर्माले भने ।