तनहुँमा मनाइयो तेस्रो जैविक विविधता दिवस

तनहुँ । तनहुँको भानु नगरपालिकामा जैविक विविधता दिवस मनाइएको छ । स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने मूल नाराका साथ तेस्रो जैविक विविधता दिवस–२०८१ मनाइएको हो ।
जैविक विविधता संरक्षण समिति, कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा वडा नम्बर ९ बाइसंगारमा उन्नत तथा रैथाने बालीहरू प्रदर्शनी गरी यो दिवस मनाइएको हो ।
कार्यक्रममा १ सय भन्दा बढी प्रजातिका रैथाने तथा उन्नत बालीहरू प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा प्रथम, द्वतिय, तृतीय हुने कृषकहरूलाई पुरकृत गरिएको थियो भने अन्य कृषकहरूलाई पनि सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि थिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत गोपाल प्रसाद शर्मा लामिछाने विशिष्ट अतिथि थिए ।
कृषक र कृषि क्षेत्रको विकासका साथै रैथाने वालि संरक्षणका लागि जैविक विविधता संरक्षण समितिले लामो समयदेखि काम गर्दै आएको छ ।
२०६५ साल देखी महत्त्वपूर्ण भूमिका खेल्दै आएको यो समितिले केन्द्रीय जिन बैकमा समेत १ सय ३२ जातका रैथाने बालीहरूलाई सुरक्षित गरिसकेको छ ।
समितिका अध्यक्ष सिताराम बजगाईँले अगामी दिनहरूमा पनि यस संस्थाले निरन्तर रूपमा लागि रहने बताए । उनले रैथाने बालीको संरक्षणका लागि स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको बताए ।