मिडियाबाजी र ख्यालठट्टाले देश चल्दैन : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् ।
सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ठ्यारोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।
‘अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा प्रतिष्पर्धी भनेर भनिएका पार्टीहरु किन मिलेर जानुप¥यो । यसकारण कि देश साच्ची अप्ठ्यारोमा पर्यो । देशै रहन्छ कि रहदैन, प्रणाली नै रहन्छ कि रहदैन भन्ने स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरि तत्वहरु यो देशमा तमासा गरेजस्तो भयो’ उनले भने ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए ।
उनले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे ।
उनले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहो¥याउँदै उहाँले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए ।
संसदका दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसपछिको जनताको निराशा भयानक हुने बताए ।
‘यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छ ? उफ्रिन्छ । मिडियाबाजी गर्छ, अनेक गर्छ । अर्कोतिरबाट अर्को निस्किन्छ । उ पनि त्यस्तै गर्छ,’उनले भने, ‘देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र ? मजाकको कुरा हो र ? किन नेकपा एमाले र कांग्रेस एकठाउँमा बस्नुपर्यो भने देश र लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन गठन भएको हो ।’
उनले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिर गरे ।