पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस
काठमाडौं– पार्टीको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गर्नुभएको थियो। सो निर्णलगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।
असारसम्म पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुने गर्नुभएको थियो । प्रायः बैठक उहाँले सानेपामै बस्ने गरी डाक्नुभएको थियो। तर, अहिले फेरि उहाँ पुरानै बाटोमा फर्किनुभएको छ । अर्थात् पार्टीको बैठक बालुवाटारमै डाक्न थाल्नुभएको हो । जसअनुसार सोमबार कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एमाले र तत्कालीन नेकपाको प्रायः सबै बैठक बालुवाटारमै राख्ने गर्नुहुन्थ्यो। जसकारण राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरेको थियो । बालुवाटारबाटै सरकार र पार्टी चलाएको भन्दै ओली निकै आलोचित हुनुभएको थियो । सर्वसाधारण जनता ओलीको सो निर्णयबाट निकै रुष्ट बन्नुभएको थियो।
ओली यसरी आलोचित बनेको देखेपछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गर्नुभएको थियो । तर, पार्टी सभापति देउवाले सोमबार पहिलेको निर्णय ल्याउनुभएको थियो ।
स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राख्नुभएको थियो । यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिनुभएको थियो ।