नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै अब पनि नसच्चिने हो भने कुर्सी छोड्नु उपयुक्त हुने बताए ।
‘सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ,’ उनले भने, ‘यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ ।’
नेता कोइरालाले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै विवाद नभएको, तर सभापतिले पार्टीलाई विधिसम्मतरुपमा सञ्चालन भने गर्नुपर्ने बताए ।
उनले दलहरूले एकजुट भएर अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने बताए । ‘संविधानमा कतिपय समस्याहरू छन् । हामीले संविधान संशोधन गरेर निर्वाचन प्रणाली पनि सच्याउनुपर्नेछ,’ उनले भने, ‘राष्ट्रियसभालाई पूर्ण समावेशी र प्रतिनिधिसभालाई २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुने गरी गर्नुपर्छ ।’