राष्ट्रपतिले भूकम्पपीडितका लागि एक महिनाको तलब दिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडित तथा प्रभावित क्षेत्रका जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् ।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा उनले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण पनि गरेका छन् ।
शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न उनी मंगलवार जाजरकोट पुगेका थिए । त्यसपछि उनले रुकुम पश्चिमका पनि विभिन्न ठाउँको भ्रमण गरेका थिए ।
भूकम्पबाट १५३ जना मानिसको मृत्यु भएको थियो भने ३६४ जना घाइते भएका छन् । भौतिक सम्पत्ति र धन तथा चौपायाको पनि थुप्रै क्षति भएको छ ।
अधिकांश घाइते जाजरकोट र रुकुम पश्चिमका भए पनि केही घाइते रोल्पालगायत अन्य जिल्लाका समेत छन् ।