भक्तपुरमा बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व
भक्तपुर । भक्तपुरमा आज पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् ।
नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएभएको इतिहास छ ।
आज पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ ।
काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।
यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् ।