जुवा खालबाट पक्राउ परेका वडाध्यक्षसहित १३ जनामाथि अनुसन्धान गर्न म्याद थप
सुर्खेत । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।
आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर-४ का वडा सचिव प्रचण्डजंग शाह लगायतलाई जिल्ला अदालतबाट ५ दिनको थप गरी अनुसन्धान सुरू गरिएको हो।
उनीहरूविरूद्ध अवैध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव काफ्लेले जानकारी दिए।
जाजरकोट सदरमुकामस्थित गैरीखालीबाट आइतबार बिहान ३ बजे उनीहरूलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेललगायत जुवाखालबाट पक्राउ परेका हुन्।