तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास भइरहेको बताउनुभएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आज भानु–४ चुँदी रम्घाबेसीमा आयोजित २१२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले यहाँको दीर्घकालीन बनाउने विकासका लागि गुरुयोजनासहित काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आदिकवि जन्मस्थल शिखर कटेरीसम्म पुग्ने सडक असहज भएकाले त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको गृह जिल्लासमेत भएकाले उहाँको सल्लाहअनुसार सङ्घ सरकारबाट गुरुयोजनासहित कार्य भइरहेको छ । अब शिखर कटेरीसम्म पुग्ने सडक सहज बनाउनुपर्ने छ, यसमा प्रदेश सरकारले सहयोग गर्नेछ ।” एकै ठाउँमा बजेट विनियोजन गर्ने नभई समन्वय विकास भइरहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आदिकवि भानुभक्तको क्षेत्रमा विकासका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले स्थानीय सरकारको मातहतमा रहे पनि आचार्य जन्मस्थल विकास सबैको दायित्व भएको धारणा राख्नुभयो ।
भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्षमा भानु जन्मस्थल शिखर कटेरीमा कार्यक्रम गर्नेगरी प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले आचार्य जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले यो क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक स्थान भएकाले यहाँको विकासमा प्रदेश तथा केन्द्र सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
‘भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ’ भन्ने नाराका साथ भानु जन्मस्थल विकासका लागि विभिन्न काम भइरहेका छन् । प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि आचार्यको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै अन्य दातृ निकाय तथा सहयोगीसँगको समन्वयमा काम भइरहेको छ ।
चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्यसहित साहित्यिक उद्यान निर्माणका लागि प्रयास भइरहेको छ । उद्यानमा आचार्यको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्यग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको जनाइएको छ ।