काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग निर्धारित भेटवार्ताको तयारी भइरहेका बेला उनी अचानक बिरामी परेका हुन् ।
उनीलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत राष्ट्रपतिको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिएका छन् ।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेललाई सुरुमा चक्कर लागेको र त्यसपछि निरन्तर बान्ता भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो । चिकित्सकहरूले उनलाई ‘पोजिसनल भर्टिगो’ भएको पुष्टि गरेका छन् ।
यो समस्या हुँदा टाउकोभित्र केही घुमिरहेको अनुभूति हुने र हल्का वा तीव्र चक्कर आउने लक्षण देखिने गर्छ । हाल उनको अवस्था सामान्य रहेको र आज वा भोलि नै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेल र जेनजी आन्दोलनबीच स्थगित वार्ता सोमबार हुने भएको छ ।