काठमाडौं । नेकपा एमाले अछामको नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । एमाले अछामको ९ औँ अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मंगलसैनमा हुँदैछ । जसका लागि सबै वडाबाट प्रतिनिधि छनौट गरिएको छ ।
यहि अधिवेशनबाट एमाले अछामलाई चलायमान बनाउने अपेक्षा पनि गरिएको छ । एमाले अछामको नेतृत्वका लागि जिल्लादेखि प्रदेशतहसम्मका नेताहरुले तयारी थालिसकेका छन् । जसका लागि हालसम्म ७ जना नेताले नेतृत्वका लागि लविङ गरिरहेका छन् ।

जसमा विद्यार्थी राजनीतिबाट आएकादेखि जिल्लामा खारिएका नेताहरु छन् । एमाले अछामका वर्तमान अध्यक्ष चन्द्र वोहराले फेरी अध्यक्षमै दोहोरिन चाहेका छन् । संकटमा एमाले अछामको नेतृत्व सम्हालेका बोहरा फेरी एक पटक नेतृत्वमा रहन चाहन्छन् ।
एमाले अछामका सचिव भीम रावल (कालोटोपी) पनि अध्यक्षका लागि तयारी गरिरहेका छन् । उनि युवाहरुमाझ लोकप्रिय छन् भने पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने खुबी भएका नेता हुन् ।
अध्यक्षका अर्का उम्मेदवार हुन्, डिबी साउँद, उनि विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन् । पार्टीमा सबैले रुचाएका र नेतृत्व गर्न सक्ने क्षमता राख्ने साउँद एमाले अछामको नेतृत्वका लागि तयारी गरिरहेका छन् ।
पालिका, जिल्ला र प्रदेशका बिभिन्न कमिटिमा रहेर काम गरिसकेका साउँद एमाले अछामको नेतृत्व गरेर एमालेलाई नयाँ उचाइँ दिन चाहन्छन् । उनलाई केन्द्र र प्रदेशका नेताहरुले समेत नेतृत्वका लागि तयारी गर्न भनिसकेका स्रोतले बतायो । साउदले आफू सर्वसम्मत जिल्ला अध्यक्ष हुने दावि गरिरहेका छन् ।
पार्टीको जिल्ला सचिव, अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष भईसकेको व्यक्ति भएका कारण आफूलाई एमालेका नेता कार्यकर्ताले सर्वसम्मत अध्यक्ष बनाउनेमा विश्वास व्यक्त गरे ।
आफू निरन्तर रुपमा जनताका गुनासा समस्यामा भिज्दै आएका कारण पनि चुनाव भएपनि जित्नेमा ढुक्क रहेको जिकिर गरे ।
यस्तै पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, वमबहादुर विसी, हिरण्ड भट्टराई, जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि अध्यक्षका आकांक्षी रहेको बताइन्छ ।





