काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ की सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाले थापाथलीस्थित अव्यवस्थित बस्ती हटाउने क्रममा छोटो सूचनाका कारण सुकुमवासीहरूमा त्रास सिर्जना भएको भन्दै माफी मागेकी छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बस्ती व्यवस्थापन गर्ने सरकारी कदम सकारात्मक भए पनि पर्याप्त विकल्प र स्पष्ट जानकारीविना छोटो समयमै कार्य अघि बढाउँदा वास्तविक सुकुमवासी अन्योलमा परेको बताएकी छन् ।

‘असली सुकुमबासीहरूले निकै कम सूचनामा के कसो गर्ने होला भनेर सोच्न नभ्याउँदै अब के होला भन्ने अन्योलतामा रहनुपरेको छ,’ उनले लेखेकी छन्, ‘यो कार्य निकै कम समयमा भएको छ । म यहाँहरू सबैसँग यो डर र त्रासका लागि माफी माग्न चाहन्छु ।’
दर्शनाले सुकुमवासी र ‘हुकुमवासी’ छुट्याएर वास्तविक सुकुमवासीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने आफ्नो धारणा दोहो¥याएकी छन् । दशकौँसम्म सुकुमवासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गर्नु र आधारभूत सुविधाबाट वञ्चित राख्नु अपराधजस्तै भएको उनले उल्लेख गरेकी छन् ।
‘काम त गर्नै पर्ने थियो—आज कि भोलि । तर पहिले सुकुमवासी र हुकुमवासी छुट्याएर गर्दा ठीक हुनेथियो,’ उनले भनेकी छन्, ‘दुःखी, पीडित सुकुमवासीको कहाँ व्यवस्थापन हुने भन्ने स्पष्ट जानकारी दिएको भए डर र त्रासको सट्टा राज्यप्रति भरोसा बढ्थ्यो ।’
उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ९१ पहिला कार्यान्वयन गर्न आग्रह गरेको पनि बताएकी छन् । यद्यपि आफ्नै पार्टी नेतृत्वको सरकार भएकाले टिम भावना अनुसार काम गर्नुपर्ने र व्यक्तिगत धारणा नमानिँदैमा असन्तुष्टि जनाउनु उपयुक्त नहुने उनको भनाइ छ ।
सांसद दर्शनाले सुकुमवासीहरूलाई आश्वस्त पार्दै सुरक्षित बासको व्यवस्था गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएकी छन् । साथै सुरक्षा निकायलाई संयमित ढंगले काम गर्न आग्रह गर्दै उनले ‘भिडन्त होइन शान्ति, बल होइन बुद्धि र हटाउने मात्र होइन व्यवस्थापन’ मा जोड दिएकी छन् ।
आगामी दिनमा सुकुमवासीहरूलाई आफ्नै लालपुर्जा भएको नागरिकका रूपमा स्थापित गर्ने अपेक्षा आफूले गरेको उनले उल्लेख गरेकी छन् ।





