अछाम । अब गाउँघरमा लुकीछिपी बन्ने घरेलु मदिरा कानुनी रुपमा ब्रान्ड बनेर बजारमा आउनेछ । अछामको पञ्चदेवल विनायक नगरपालिकाले ऐन पारित गर्दै, घरेलु मदिरा उत्पादन, व्यवस्थापन तथा नियमन गर्ने जनाएको हो ।
नगरपालिकाको १४औं नगरसभाबाट पारित “घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन”ले घरेलुस्तरमा बनाइने कोदो, मकै, जौ लगायतका सामग्रीबाट बन्ने मदिराको गुणस्तर परीक्षण गरी ब्रान्डिङ गर्ने बाटो खोलिएको हो ।

नगरप्रमुख अम्बिका चलाउने भन्छिन्, “हामी मदिरालाई नकारात्मक होइन, व्यवस्थित ढंगले रोजगारी र व्यवसायको स्रोत बनाउनेतर्फ लागेका छौं।” उनले जनजातीय परम्परासँग जोडिएको मदिरालाई सम्मानका साथ व्यवस्थापन गर्न ऐन आवश्यक रहेको बताइन् ।
रोजगार संयोजक भरतराज अधिकारीका अनुसार, अब गुणस्तरीय मदिरा उत्पादनलाई दर्ता प्रणालीमा ल्याई साना उद्योगको रूपमा विकास गरिनेछ। कार्यविधि र नियमावली निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
नगर उपप्रमुख हर्क बहादुर रावलका अनुसार, अब लुकीछिपी हुने कारोबार घट्नेछ भने, दर्ता प्रक्रिया र कर प्रणाली मजबुत हुँदै स्थानीय उत्पादनले आयआर्जन र रोजगारीको नयाँ बाटो खोल्नेछ ।
यस ऐन अन्तर्गत अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान पनि रहेको छ ।