काठमाडौं । मोरङको बेलबारी नगरपालिका–१ का २७ वर्षीय कैलाश तामाङ मिर्गौला फेल भई पाँच महिनादेखि जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । जीवनरक्षक मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि कागजी झमेलाका कारण उनको उपचार रोकिएको छ ।
कैलाशकी आमाले मिर्गौला दान गर्न सहमति जनाइसकेकी छन् । चिकित्सकीय परीक्षणले पनि उनी प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि गरिसकेको छ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क प्रत्यारोपण गरिदिने घोषणा गरिसकेका छन् । तर, काठमाडौँ जिल्ला प्रशासन कार्यालयको ढिलासुस्तीले प्रत्यारोपण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

कैलाशकी आमा गीता तामाङको विगतमा दोस्रो विवाह भएको कारण देखाउँदै प्रशासनले फाइल अघि बढाउन अस्वीकार गर्दै आएको छ । यद्यपि, उनी हाल पनि मोरङमै स्थायी रूपमा बसोबास गरिरहेकी छन् र मोरङ जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित सिफारिस र स्वीकृति प्राप्त भइसकेको छ ।
कागजातसहितको फाइल काठमाडौं जिल्ला प्रशासन कार्यालय पठाइएको भए पनि प्रशासन शाखाका प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले फाइल अघि नबढाएको तामाङ परिवारको गुनासो छ ।
परिवारका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ऋषिराम तिवारीले समेत यस विषयमा चासो नदिएको र लगातार बेवास्ता गर्दै आएको उल्लेख गरिएको छ ।
‘सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट भएको ढिलाइले हामीलाई अप्ठ्यारोमा पारेको छ,’ कैलाशका आफन्तले भने ।
कैलाशको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । चिकित्सकहरूका अनुसार ढिला निर्णय भएमा उनको जीवन नै संकटमा पर्न सक्छ ।
एक जना नागरिकको जीवन प्रशासनिक दस्तखतमा अड्किएकोप्रति चौतर्फी चिन्ता र असन्तुष्टि व्यक्त हुन थालेको छ ।