तनहुँ । राष्ट्रिय युवा संसदमा तनहुँ क्षेत्र नम्बर १ बाट कविन्द्र ढकाल निर्वाचित भएका छन् ।
ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालित राष्ट्रिय युवा संसद कार्यक्रमअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा ढकालले अत्यधिक मत प्राप्त गर्दै विजयी भएका हुन् ।

विगतदेखि राजनीति तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका ढकाल विद्यार्थी राजनीति संगठन अखिल मार्फत पनि लामो समयदेखि युवाहरूको हकहितका लागि आवाज उठाउँदै आएका छन् । उनी युवासम्बन्धी विविध कार्यक्रमहरूमा समेत सक्रिय सहभागी रहँदै आएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिंदै ढकालले भने, ‘राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय हो। अब युवाको आवाज बुलन्द गर्न, उनीहरूको समस्या उजागर गर्दै समाधानका लागि मार्ग पहिल्याउन सधैं समर्पित रहने छु ।’
ग्लोबल युथ पार्लियामेन्टले सञ्चालन गरेको ‘राष्ट्रिय युवा संसद’ अभियान अन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रबाट १/१ जना युवालाई प्रतिस्पर्धामार्फत चयन गरिएको हो ।
युवाहरूलाई नीति निर्माण, नेतृत्व र राष्ट्र निर्माणको अभियानमा सक्रिय गराउने उद्देश्यसहित कार्यक्रम अघिल्लो वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।