अछाम । रामारोशन गाउँपालिकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखविरुद्ध सामाजिक सञ्जालमा भइरहेका आपत्तिजनक टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी दिएको छ ।
गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक तथा अराजक मानसिकता भएका व्यक्तिहरूले सामाजिक मर्यादा र प्रचलित कानुनको उल्लङ्घन गर्दै सामाजिक अराजकता फैलाउने काम गरिरहेको उल्लेख गरेको छ ।

‘नयाँ जोगी’को नामबाट भइरहेका सबै खाले सामाजिक मर्यादा र प्रचलित कानुनको समेत प्रवाह नगरी अराजकता मच्चाउने अपराधीलाई कानुनी उपचारको बाटो रोजिने स्पष्ट पारेको छ ।
‘कानुनी राज्यमा आफूलाई कानुनभन्दा माथि ठानी सामाजिक सद्भाव भङ्ग गर्ने, अतिवादी गतिविधि फैलाउने, अरूको इज्जत प्रतिष्ठामा आँच आउने कार्यको छुट कसैलाई छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
शैक्षिक सुधारका लागि ‘रामारोशन शैक्षिक रूपान्तरण अभियान’ सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाले यो अभियानको लोकप्रियता र प्रभावबाट डराएका व्यक्तिहरूले व्यक्तिगतरुपमा आक्रमण गरेको ठहर गरेको छ ।
‘यो हमला प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई मात्र नभई सिङ्गो गाउँपालिका र स्थानीय सरकारलाई नै लक्षित गरिएको प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ ।
पालिकाले गुणस्तरीय शिक्षा आम सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ । यसै क्रममा आएको आलोचना र गालीगलौजप्रति पालिकाले व्यक्तिगत प्रतिशोध नराखेको भए पनि कानुनी प्रक्रिया अपनाइने जानकारी दिएको छ ।
रामारोशन गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएका झुट र भ्रममा नपर्न सबै स्थानीयवासीमा अपिल गर्दै विकास, सुशासन र समृद्धिप्रति प्रतिबद्ध रहिरहने स्पष्ट पारेको छ ।