काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा, अर्थात् गुरु पूर्णिमा । आफूलाई अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोर्याउने गुरुप्रति श्रद्धा, भक्ति र सम्मान अर्पण गरी देशभर यो पर्व भव्यताका साथ मनाइँदै छ । यो दिन शिष्यहरूले आफ्ना गुरुहरूलाई सम्झने र उनीहरूबाट प्राप्त ज्ञान तथा मार्गदर्शनका लागि कृतज्ञता प्रकट गर्ने विशेष अवसर हो ।
वैदिक सनातन परम्परामा आजको दिनलाई महाभारत, अठार पुराण, उपनिषद्लगायत विशाल ज्ञानराशिका रचयिता महर्षि वेद व्यासको जन्मजयन्तीका रूपमा पनि मनाइन्छ । व्यासले वैदिक ज्ञानलाई व्यवस्थित गरी मानव सभ्यतालाई अमूल्य गुन लगाएकाले उनलाई ‘आदि गुरु’ मानिन्छ र यसै दिनलाई ‘व्यास जयन्ती’ का रूपमा पनि श्रद्धापूर्वक स्मरण गरिन्छ ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । अर्थात्, अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फ लैजाने व्यक्ति नै गुरु हो । शास्त्रमा भनिएको छ, “गिरति अज्ञानं इति गुरुः” अर्थात् जसले अज्ञानलाई हटाउँछ, उही गुरु हो । यसर्थ, गुरु केवल अक्षर चिनाउने शिक्षक मात्र नभई जीवनलाई सही दिशा दिने हरेक पथप्रदर्शक हुन् ।
यस दिन शिष्यहरूले आफ्ना गुरुलाई भेटेर वा सम्झेर फूलमाला, मिष्ठान्न र उपहार प्रदान गरी आशीर्वाद लिने गर्दछन् । गुरुलाई मातापितासरह सम्मान गर्ने हाम्रो वैदिक परम्परा छ । आजभोलि विद्यालय, महाविद्यालयदेखि विभिन्न संघसंस्था र आध्यात्मिक केन्द्रहरूमा समेत विशेष कार्यक्रम आयोजना गरी गुरुहरूको सम्मान गर्ने चलन छ ।