काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता दौरान सट्टेबाजी साइटहरूको विज्ञापन गरिएको भन्दै विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) लाई सचेत गराएको छ । साथै, दुई विज्ञापन एजेन्सीलाई जरिवाना र तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।
गत मंसिर–पुसमा सम्पन्न एनपीएल क्रिकेट प्रतियोगितामा खेलाडीहरूको जर्सी, मैदान र स्टार स्पोट्र्समार्फत भएको प्रत्यक्ष प्रसारणमा १ह्द्यब्त्, ध्याि–७७७, म्बाब ल्भधक जस्ता सट्टेबाजीसँग सम्बन्धित साइटहरूको विज्ञापन गरिएको थियो । सो सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्दै बोर्डले उक्त निर्णय सुनाएको हो ।

बोर्डले क्यानसँग पटक–पटक पत्राचार गर्दा पनि कार्य व्यस्तताको कारण देखाउँदै समयमै जवाफ नआएको भन्दै क्यानको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार भविष्यमा यस्ता निर्देशनको उल्लंघन गरेमा क्यानमाथि विज्ञापन गर्न÷गराउन निषेध गरिने चेतावनीसहित सचेत गराइएको छ ।
एनपीएलमा सट्टेबाजी साइटको विज्ञापन कारोबारमा संलग्न रहेको पाइएका ब्राण्ड डिजिटल लजिक प्रा.लि. र टिसीएम स्पोट्र्स एण्ड मार्केटिङ प्रा.लि. लाई बोर्डले कारबाही गरेको छ ।
बोर्डमा सूचीकृत नभई अवैध रूपमा विज्ञापन कारोबार गरेको भन्दै दुवै एजेन्सीलाई १०÷१० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै तीन महिनासम्म कुनै पनि प्रकारको विज्ञापन कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्धको अवधि सकिएसम्म यी कम्पनीहरू बोर्डमा सूचीकृत समेत हुन नपाउने जनाइएको छ ।





