काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका प्रतिनिधिबीच शनिबार शीतल निवासमा झन्डै दुई घण्टा लामो छलफल सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी हुने तय भए पनि स्वास्थ्य समस्या आएपछि उनी अनुपस्थित रहे । राष्ट्रपति पौडेललाई शनिबार बिहान चक्कर र बान्ता भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

राष्ट्रपति अनुपस्थित भएपछि बैठक प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूबीच मात्र सीमित भयो । छलफलमा जेनजीतर्फबाट सुदन गुरुङ, ओजस्वीराज थापा, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राना मगर र निकुञ्ज भण्डारी सहभागी थिए ।
सरकारतर्फबाट ऊर्जा मन्त्री कुलमान घिसिङ बाहेक सबै मन्त्री सहभागी थिए ।
बैठकमा निर्वाचनलगायतका एजेन्डामा छलफल हुने तय भए पनि राष्ट्रपति अनुपस्थित रहेपछि त्यस विषयमा प्रवेश हुन नसकेको जेनजीका एक प्रतिनिधिले बताए । ‘प्रधानमन्त्रीज्यूले तपाईंहरूको कुरा के छ भन्नुभयो, त्यसपछि हामीले पालैपालो आफ्ना माग राख्यौं,’ उनले भने ।
जेनजी प्रतिनिधिहरूले आन्दोलनलाई संस्थागत गर्न लिखित समझदारीमा हस्ताक्षर गर्नुपर्ने, सहिद र घाइतेका परिवारलाई विशेष प्राथमिकता दिनुपर्ने र सरकारमा उनीहरूलाई समेट्नुपर्ने माग गरेका थिए । त्यसबारे प्रधानमन्त्री कार्कीले सकारात्मक प्रतिक्रिया दिएकी थिइन् ।
‘प्रधानमन्त्रीज्यूले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र छिट्टै कार्यान्वयन हुन्छ भन्नुभयो,’ एक सहभागीले भने ।
बैठकमा केही प्रतिनिधिहरूले मन्त्रिपरिषद् विस्तारका विषयमा समेत प्रश्न उठाएका थिए । जबाफमा प्रधानमन्त्री कार्कीले ‘मन्त्रीका लागि नाम मागेको छु, आएको छैन । बाहिर चर्चा चलेका नामहरूमा कुनै सत्यता छैन,’ भन्दै मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी रहेको बताइन् ।
संविधान र सुशासनका विषयमा पनि प्रतिनिधिहरूले प्रश्न उठाएका थिए । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार निरन्तर काम गरिरहेको बताउँदै भनिन्, ‘यो जादुको छडी होइन, काम विस्तारै देखिँदै जानेछ ।’
छलफलको बीचमा एक प्रतिनिधिले ‘सरकार एनजिओको हो ? भन्ने प्रश्न गर्दा माहोल केहीबेर तातिएको बताइन्छ । त्यसपछि प्रधानमन्त्री कार्की झोक्किँदै भनिन्, ‘को एनजिओको हो सरकार ? मैले आजसम्म कुन एनजिओमा काम गरेकी छु ? यस्तो नचाहिने कुरा नगरौँ ।’
जेनजी मुभमेन्ट अलायन्सकी प्रतिनिधि मोनिका निरौलाका अनुसार बैठकमा केही हल्ला भए पनि वातावरण सामान्य रह्यो । ‘बीचमा अलिकति हल्लाखल्ला भयो, तर समग्रमा छलफल सकारात्मक रह्यो,’ उनले भनिन् ।