काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षाकर्मी फिर्ता गरेको छ । गृह मन्त्रालयले तोकेको मापदण्ड विपरीत सुरक्षाकर्मी राखेको ठहर गर्दै उनीहरूमा खटिएका सुरक्षाकर्मीहरू दुई दिनअघि फिर्ता बोलाइएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार भीआईपीहरूले सुरक्षाकर्मीहरूलाई सुरक्षाका लागि भन्दा पनि व्यक्तिगत र घरेलु काममा प्रयोग गरेको गुनासो आएको थियो । ‘सुरक्षाकर्मीहरूलाई निजी काममा दुरुपयोग गर्ने, भान्सामा लगाउनेजस्ता कार्य भइरहेको पाइएकोले फिर्ता लगाइएको हो,’ स्रोतले भन्यो ।

मन्त्रालयका अनुसार, निवर्तमान प्रधानमन्त्री ओलीले मापदण्डभन्दा बढी २७ जना सुरक्षाकर्मी राखेका थिए । तीमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन जनालाई सवारी चालकका रूपमा प्रयोग गरिएको पाइएको छ ।
त्यस्तै, पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएकामध्ये करिब आठ जना सुरक्षाकर्मी उनको छोरी गङ्गा दाहालको घरमा कार्यरत रहेको सूचना आएको गृह स्रोतले जनाएको छ ।
मन्त्रालयले तोकेको मापदण्डअनुसार पूर्वप्रधानमन्त्रीहरूले १६ जना सुरक्षाकर्मी पाउने व्यवस्था छ । तीमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटाइने प्रावधान रहेको छ । ओली र प्रचण्डबाहेक अन्य पूर्वप्रधानमन्त्रीहरूले मापदण्ड उल्लङ्घन नगरेको मन्त्रालयले जनाएको छ ।
यसबीच शुक्रवार राष्ट्रपति कार्यालयमा भएको छलफलमा पनि यो विषय उठेको थियो । एमाले महासचिव शंकर पोखरेलले ‘सुरक्षा चुनौती भएका बेला पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाकर्मी फिर्ता गर्नु पूर्वाग्रहपूर्ण कदम हो’ भन्ने टिप्पणी गरेका थिए ।
तर सरकारी प्रतिनिधिहरूले यो निर्णय राजनीतिक नभई मापदण्ड कार्यान्वयनका लागि गरिएको बताउँदै सुरक्षा जोखिम भएमा सम्बन्धित पूर्वप्रधानमन्त्रीहरूले गृह प्रशासनमा निवेदन दिन सक्ने र त्यसका आधारमा पुनः मूल्याङ्कन हुने बताएका छन् ।
सरकारको कदमपछि एमालेनिकट युवा संघले आफ्ना स्वयंसेवक परिचालन गरी अध्यक्ष ओलीको सुरक्षा गर्न थालेको जनाएको छ भने माओवादी अध्यक्ष प्रचण्डका सुरक्षाका लागि वाईसीएल र पूर्वलडाकुहरू खटिन थालेका छन् ।