काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले पहिलो खेलमा युएईमाथि १ रनको रोमाञ्चक जित दर्ता गरेको हो । नेपालको जितमा अल राउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

ब्याटिङमा नचलेका उनले बलिङ शानदार प्रदर्शन गरे । उनले तीन विकेट र एक रन आउट गरे ।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले १ सय ३९ रन मात्रै जोड्न सक्यो ।
युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए ।
युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए ।
नेपालले दोस्रो खेल भोलि कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ ।