काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिमा होमिएका बालेन्द्र शाह (बालेन) सोमबार बिहानै धार्मिक नगरी जनकपुरधाम पुगेका छन् । राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेलगत्तै नेता शाहले बिहान सबेरै जानकी मन्दिर पुगेर दर्शन तथा पूजाअर्चना गरेका हुन् ।
सोमबार बिहान ६ बजे नबज्दै मन्दिर प्राङ्गण पुगेका बालेनको साथमा पूर्व सांसद अमरेशकुमार सिंहको पनि उपस्थिति रहेको थियो । एउटै रङ्ग र शैलीको पोशाकमा सजिएका बालेन र अमरेशलाई देख्दा मन्दिर पुगेका भक्तजनहरू अचम्मित परेका थिए । बिहानीको चिसो समय भए तापनि बालेनलाई हेर्न र उनीसँग साक्षात्कार गर्न जानकी मन्दिरमा समर्थकहरूको ठूलो भीड लागेको थियो ।

आइतबार मात्रै काठमाडौंको मेयर पद त्याग गरी रास्वपाको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका बालेन सोझै जनकपुर पुगेका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी रास्वपाले मधेस प्रदेशमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् ।





