काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार अन्तिम समयमा आएर परिवर्तन गरेको छ । रास्वपाले यसअघि तय गरिएका उम्मेदवार आशिष सुवेदीको टिकट खोसेर सुलभ खरेललाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।
सोमबार अबेर राति बसेको बैठकले सुवेदीको ठाउँमा खरेललाई उम्मेदवार बनाउने अन्तिम निर्णय लिएको हो । यसअघि रास्वपाले सुवेदीलाई आधिकारिक टिकट दिएर निर्वाचन क्षेत्रमा खटाइसकेको थियो । तर, स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने दबाबका बीच पार्टी नेतृत्वले उम्मेदवार परिवर्तनको बाटो रोजेको बुझिएको छ ।

रास्वपाका एक केन्द्रीय नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘रुपन्देही–२ का स्थानीय साथीहरूको तीव्र असन्तुष्टि र पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन हामीले सुलभ खरेललाई अघि सार्ने निर्णय गरेका हौं । अब यो क्षेत्रमा पार्टीका तर्फबाट खरेल नै आधिकारिक उम्मेदवार हुनुहुन्छ ।’
नयाँ उम्मेदवार बनेका सुलभ खरेल कानुनका विद्यार्थी हुन् । उनी यसअघि रुपन्देही–३ को उपचुनावका लागि पनि आन्तरिक प्रतिस्पर्धामा थिए । तर, त्यतिबेला पार्टीले डा. लेखजङ्ग थापालाई टिकट दिएपछि खरेल समूह केही असन्तुष्ट रहँदै आएको थियो । यता, टिकट खोसिएका आशिष सुवेदीलाई भने काठमाडौं महानगरका प्रमुख बालेन शाहको निकटस्थका रूपमा चर्चा गरिने गरिएको थियो ।
रुपन्देही–२ मा नेकपा (एमाले) ले आफ्ना उपाध्यक्ष एवं प्रभावशाली नेता विष्णु पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पौडेलजस्तो ‘हेभीवेट’ उम्मेदवारसँग भिड्न रास्वपाले युवा र कानुनका विद्यार्थी खरेललाई मैदानमा उतारेसँगै यो क्षेत्रको चुनावी भिडन्त थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।





