काठमाडौं । नेकपा एमाले सचिव लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक संसदमा ल्याउन पहल गरिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको कार्य तालिकामा राखिएको विधेयक अन्तिम समयमा हटाइएको थियो । बुधवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सङ्घर्ष समितिका पदाधिकारी सँग छलफल गर्दै सचिव भट्टले विधेयक पुनः कार्यसूचीमा राखेर पास गराउन आफूले पहल गरिरहेको बताएका हुन ।

उनले विधेयक छिटो सदनमा पेस गरेर विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई आग्रह गरेको बताए । ‘विधेयक आएर विश्वविद्यालय सञ्चालनमा आए यो आफै सस्टेन्स गरिहाल्छ’ उनले भने ‘यहाँ विश्वविद्यालय चलाउन भूगोल नै उपयुक्त भएकाले यहाँ बिरामी र विद्यार्थीको पनि अभाव हुँदैन ।’ उनले विधेयक सँगै यस वर्षको नीति तथा कार्यक्रममा पनि गेटा विश्वविद्यालय समेट्न आवश्यक भएकाले त्यसका लागि पनि पहल गरिरहेको बताए ।
उनले यहाँ विश्वविद्यालय हुन नदिन केही व्यक्तिले पुरै तागत लगाइरहेकाले समस्या भएको बताए । भेटमा सङ्घर्ष समितिका पदाधिकारीले विधेयक रोक्ने प्रयास गरिए दबाबका कार्यक्रम गर्न बताएका थिए । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले विधेयक सदनबाट पास गर्नका लागि यस क्षेत्रका नेताहरूले भूमिका खेलिदिनुपर्ने बताए ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । निकै ढिला गरी सोमबार प्रतिनिधि सभामा पेस हुने कार्यसूचीमा परेर पनि सभामुखले सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै हटाएका थिए ।
अत्तरिया अनलाइनबाट साभार