काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले क्यानलाई निरन्तर साथका लागि धन्यवाद समेत व्यक्त गरेका छन् । सन्दीपले आफू नेपालबाट भने निरन्तर खेल्ने प्रष्ट पारेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले सन्दीपको यो निर्णयबारे क्यानलाई जानकारी आएको र छलफलपछि मात्र निर्णय लिने बताए ।
केन्द्रिय सम्झौता नगर्दा क्यानको नियम मान्ने वा नमान्ने भन्ने प्रष्टता हुँदैन । त्यसो त सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटको निलम्बनबाट फर्कंदा पनि केन्द्रिय सम्झौता बेगर नै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । त्यस्तै नयाँ खेलाडीले पनि सम्झौता नहुँदा खेलेको उदाहरण छ ।
सन्दीप आज नै स्कटल्याण्ड भ्रमण गर्ने टोलीमा भने समावेश छन् । आज विहान मात्र क्यानको केन्द्रिय कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा सन्दीप उपस्थित रहेका थिए ।