काठमाडौं । प्राचीन इजिप्टियन सभ्यताको इतिहास र कलाको अद्वितीय पहिचान बोकेका पच्चीस ऐतिहासिक एवं कलात्मक रूपमा महत्वपूर्ण कलाकृतिहरू संयुक्त राज्य अमेरिकाबाट इजिप्ट फिर्ता ल्याइएको छ । इजिप्टको विदेश मन्त्रालयका अनुसार, न्यूयोर्कस्थित इजिप्टियन कन्सुलेट जनरलको निरीक्षणमा यी बहुमूल्य वस्तुहरू फिर्ता गरिएका हुन् ।
मन्त्रालयले यी कलाकृतिहरूलाई पछिल्ला वर्षहरूमा अवैध रूपमा तस्करी गरिएका पुरातात्विक वस्तुहरू मध्ये सबैभन्दा ठूलो समूहका रूपमा उल्लेख गरेको छ । फिर्ता गरिएका वस्तुहरूमा ढुंगा र काठका सार्कोफ्यागस (शव राख्ने बाकस) का ढक्कनहरू, सिरेमिक र सुनको आवरणयुक्त काठका अन्त्येष्टि मुखौटा, ठूलो अलाबास्टर फूलदान, तथा ग्रीको–रोमन काल (३३२ ईसा पूर्व–६४० ईस्वी) मा बनेको महिलाको चित्र समावेश छन् ।

त्यस्तै, सुन, कास्य र विभिन्न धातुबाट निर्मित गहनाहरू, टोलेमी प्रथमको शासनकालको दुर्लभ सुनको सिक्का, र प्राचीन इजिप्टियन धार्मिक तथा कलात्मक परम्पराका नमूनाहरू झल्काउने साना कांस्य र ढुंगाका मूर्तिहरू पनि समावेश छन् ।
यी सम्पदाहरूको फिर्ता न्यूयोर्कस्थित इजिप्टियन कन्सुलेट जनरल, न्यूयोर्क जिल्ला न्यायाधिवक्ताको कार्यालय, तथा अमेरिकी सुरक्षा एजेन्सीहरूको संयुक्त प्रयासमा सम्भव भएको हो । यस अभियानमा कलाकृतिहरू कब्जामा राख्ने निजी सङ्कलकहरूसँगको संवेदनशील र दीर्घ वार्तालाई निर्णायक मानिएको छ ।
यही क्रममा इजिप्टको पर्यटन तथा पुरातात्विक मन्त्रालय, विदेश मन्त्रालयको सांस्कृतिक क्षेत्र, र सार्वजनिक अभियोजन कार्यालयले उल्लेखनीय सहयोग गरेका थिए । इजिप्टले पछिल्ला वर्षहरूमा आफ्नो सांस्कृतिक सम्पदा संरक्षण र अवैध तस्करीविरुद्ध विश्वव्यापी अभियानलाई तीव्र बनाएको छ ।