लखनउ । भारतको उत्तर प्रदेशस्थित लखनउमा बिहीबार बिहान भएको एक भीषण बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । बिहानीपख ५ बजे मोहनलालगञ्ज नजिकैको किसान पथ (बाहिरी रिङरोड) मा बिहारबाट दिल्ली जाँदै गरेको एसी स्लिपर बसमा आगलागी भएको हो ।
मृत्यु हुनेमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बसमा झण्डै ८० जना यात्रु सवार थिए । दुर्घटनाको समयमा अधिकांश यात्रुहरू निदाइरहेका थिए । एक्कासि बसभित्र धुवाँ फैलिन थालेपछि यात्रुहरूमा अफरातफरी मच्चिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार, केही मिनेटमै सम्पूर्ण बस आगोको चपेटामा प¥यो । यात्रुहरू भाग्न खोज्दा अतिरिक्त सिटका कारण मुख्य गेटसम्म पुग्न कठिन भयो, जसले धेरैलाई बसमै अड्काइदियो ।

सबैभन्दा दुःखद पक्ष, घटनापछि बस चालक र कन्डक्टर यात्रुहरूको सहायता गर्नुको सट्टा बस छोडेर भागेका थिए । नजिकैका बासिन्दाले तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए । दमकल टोली घटनास्थलमा पुग्दा बस पूर्ण रूपमा जलीसकेको थियो। करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बसको आपतकालीन ढोका (इमर्जेन्सी गेट) नखुल्दा पछाडिका यात्रुहरू बसमै फसेर जलेको आशंका छ । थप रूपमा, बसमा पाँच–पाँच केजीका सात वटा ग्यास सिलिन्डर पनि भेटिएका छन्। यद्यपि ती सिलिन्डर विस्फोट नभएकाले अझ ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ । घटनासँग सम्बन्धित विस्तृत अनुसन्धान भइरहेको छ ।