काठमाडौं । घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) ले बङ्गलादेशविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
बुधबार राति सम्पन्न तेस्रो तथा निर्णायक खेलमा यूएईले बङ्गलादेशलाई ७ विकेटले पराजित गर्दै ऐतिहासिक शृङ्खला जित दर्ता ग¥यो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी हुँदा तीन विकेट गुमाएर १६६ रन बनायो।

यूएईका लागि ओपनर अलिसान सर्फुले नटआउट रहँदै ४७ बलमा आक्रामक ६८ रनको इनिङ्स खेले। उनको प्रदर्शनकै आधारमा उनी प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै, असिफ खानले २६ बलमा नटआउट ४१ रन बनाउँदै जितमा उल्लेखनीय भूमिका खेले।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। बङ्गलादेशका लागि जाकर अलीले सर्वाधिक ४१ रन बनाए।
यूएईका बलर होल्डर अलीले घातक प्रदर्शन गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिँदै विपक्षीको शीर्षक्रमलाई तहसनहस पारे।
यो जितसँगै यूएईले विश्व क्रिकेटमा आफ्नो उपस्थिति थप सशक्त बनाएको छ भने टेस्ट राष्ट्रमाथिको यो सफलता यूएई क्रिकेटको इतिहासमै महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।