काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्त्व राख्ने बताएका छन् ।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौँमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताए ।

उनले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गरे । उनले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गरे ।
सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
उनले भने ‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो रु कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि रहन्छ । तपाईँहरूको जिम्मेवारी अरू क्षेत्रको जनता र उम्मेदवारको भन्दा बढी छ । धेरै बढी छ, तपाईँहरूले यो महसुस गर्नुभएको होला । तपाईँहरू सबैले रेकर्ड बनाउने गरी असिम राईलाई तारा चुनाव चिन्हलाई अत्यधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईँहरूले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईँहरूको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रूपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरूमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’
उनले जेन–जी आन्दोलनपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिए । उनले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताए ।





