काठमाडौं । निर्यात व्यापारमा नयाँ कीर्तिमान कायम भएको छ । चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को १० महिना (साउन–वैशाख) को अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा यस अवधिमा भएको सर्वाधिक निर्यात हो । गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले निर्यात बढेको हो ।
यसअघि आव २०७८÷७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो आर्थिक वर्षमा कुल वैदेशिक व्यापारले समेत कीर्तिमान राख्दै २१ खर्ब नाघेको थियो । आव २०७७÷७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको नेपालले लगत्तैको आव २०७८÷७९ मा ४१.७४ प्रतिशत धेरै अर्थातः २ खर्ब बराबरको वस्तु निर्यात गरेको थियो । यस वर्ष भने १० महिनामै सो कीर्तिमान तोडिएको हो ।

यस वर्ष १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर १८.३७ प्रतिशत हुँदा निर्यात व्यापारमा ७२.७१ प्रतिशतको वृद्धि भएको छ ।
त्यसले गर्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा प्रतिशतमा समेत छलाङ मारेको देखिएको छ । वैशाखसम्म कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.८८ प्रतिशत पुगेको छ । अघिल्लो आवको १० महिनामा यस्तो हिस्सा ८.८३ प्रतिशत थियो । निर्यातको हिस्सा ४५.९१ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको १० महिनामा वस्तु निर्यात १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ मात्र रहेको थियो । यस वर्ष ९१ अर्ब ७३ करोड ७५ लाख रुपैयाँले निर्यात बढेको हो । अघिल्लो आव २०८०÷८१ को १२ महिना (वार्षिक) मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।
यस वर्ष १० महिनामा सर्वाधिक निर्यात भएका पहिलो ५ वस्तुमध्ये दुई वस्तु वनस्पति तेल रहेको छ । १० महिनामा सोयाबिन तेल निर्यात मात्रै ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस अवधिमा ३७ करोड ४० लाख ८६ हजार ३६८ किलोग्राम सोयाबिन तेल निर्यात भएको हो । दोस्रो नम्बरमा सनफ्लावर तेल रहेको छ । जुन ४ करोड ५७ लाख ७९ हजार २९ लिटर निर्यात भएको छ । यसको मूल्य १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबर रहेको छ ।
तेस्रो स्थानमा कार्पेट निर्यात रहेको छ । १० महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको आँकडा छ । चौथो स्थानमा अलैँची रहेको छ । यसको निर्यात ६ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको छ । पाँचौं स्थानमा स्टील तथा आइरन रहेको छ । जुन ४ अर्ब ७९ करोड रुपैयाँ बराबर रहेको छ ।
चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा एक महिनामै २९ अर्ब रुपैयाँले बढेर २ खर्ब १७ अर्ब पुगेको तथ्यांक छ ।
विज्ञ भन्छन्– यस्तो निर्यात दिगो हुँदैन
वनस्पति तेलमा अधिक निर्भर रहेर हुने निर्यात व्यापारलाई विज्ञहरूले भने उत्साहजनक रुपमा लिँदैनन् । व्यापारविद् पुरुषोत्तम ओझा कुल निर्यातको आधा हिस्सा नेपालमा उत्पादन नहुने, आयात गरी पुनः भारत निर्यात गर्ने वस्तुको रहेको भन्दै यसले निर्यात व्यापारमा दिगोपनमा प्रश्न रहेको बताउँछन् ।
तथ्यांक अनुसार नेपालले १० महिनामा वनस्पति तेल र यसको कच्चा पदार्थको आयात १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकमको गरेको छ । त्यसमध्ये ९१ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको छ । यसबाट सोयाविन, सूर्यमुखी र पाम आयलको व्यापारबाट मुलुकले प्रत्यक्ष ‘भ्यालु एड’ प्राप्त गरेको नदेखिने ओझाले बताए ।
निर्यातमा उछाल आए पनि आयातको हिस्सा अधिक हुँदा व्यापार घाटा १० महिनामा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो ।
‘अर्जेन्टिना, मलेसिया, इन्डोनेसियाबाट ठूलो कन्टेनरमा नेपाल ल्याएर सानो प्याकेटमा भारततर्फ निर्यात गर्ने काम भएको छ,’ उनले भने, यसले नेपालको रोजगारी, पूँजी विकास र अर्थतन्त्रमा समेत त्यति ठूलो योगदान भने गर्दैन ।’ सोहीकारण नेपाल आफ्नो प्रतिस्पर्धी क्षमता भएका वस्तुको निर्यात र मूल्य अभिवृद्धि बढी हुने वस्तुको निर्यात भए मात्र रमाउन सक्ने उनको तर्क छ ।
‘अहिले तेलको निर्यात वैध निर्यात व्यापार मात्र हो, भारतले लिने नीतिहरुले यसमा छिनछिनमै असर पर्न सक्छ,’ उनी भन्छन् । नेपालले कार्पेट, अलैँची, छुर्पी, सिमेन्टजस्ता वस्तुको निर्यातमा बढी जोड दिनुपर्ने उनी बताउँछन् ।
आयात १३.११ प्रतिशतले बढ्यो
१० महिनामा वस्तु आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.४४ प्रतिशत कम हो ।
निर्यातमा उछाल आए पनि आयातको हिस्सा अधिक हुँदा व्यापार घाटा १० महिनामा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो ।
२ खर्ब ६४ अर्बको इन्धन आयात
१० महिनाको अवधिमा नेपालले २ खर्ब ६४ अर्बको इन्धन आयात गरेको छ । कुल आयातमा सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ । डिजेल १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको भएको छ ।
कुल आयातमा दोस्रो स्थानमा कच्चा सोयाबिन तेल रहेको छ । जुन ८१ अर्ब ८९ करोड रुपैयाँ हाराहारी भित्रिएको छ । तेस्रो स्थानमा पेट्रोल छ । पेट्रोल ५३ अर्ब ५ करोड रुपैयाँ बराबर आएको छ । चौथो स्थानमा खाना पकाउने ग्याँस रहेको छ । जुन ५१ अर्ब ८१ करोड रुपैयाँ बराबर भित्रिएको छ ।