कञ्चनपुर । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।
चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन् । त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । कञ्चनपुरमा यस चराको सङ्ख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको उनले बताए ।

हिंस्रक जनावर बाघ, चितुवा, स्याल, ब्वाँसोलगायत नजिक आउन थाले यस चराले ठूलो आवाजले कराएर जानकारी दिने गर्दछ । त्यसैले सारसलाई मानवमैत्री चराका रूपमा समेत लिने गरिन्छ । आहारा र गुँड बनाउनका लागि यो चरा धानखेत र सिमसारमा निर्भर हुने गरेको चराविज्ञ डगौरा बताउछन् । “तर पछिल्लो समय यहाँ मुस्किलले यो चरा देख्न पाइन्छ । यसर्थ सिमसार क्षेत्र जोगाउनका लागि पालिका र स्थानीय समुदायले विशेष ध्यान दिन आवश्यक छ । यस चराको महत्वसँगै आनीबानी, व्यवहार र बासस्थानबारे जनचेना जगाई स्थानीय बासिन्दालाई संरक्षणको क्षेत्रमा सहभागी गराउनुपर्छ”, उनले भने ।
कृषिमा रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल र जैविक विषादीको प्रयोगलाई बढावा दिन किसानलाई उत्प्रेरित गराउन आवश्यक रहेको जानकारहरू बताउँछन् । “दुई दशक अघिसम्म सारस चरा सहजै रूपमा धानका खेतमा आहारा खोज्दै गरेको अवस्थामा देखिने गरेका थिए, हिउँदमा मटरका दाना खान खेतमा आउँथे”, शुक्लाफाँटा नगरपालिका–३ का थारु अगुवा दानसिंह दहित भन्छन्, “रासायनिक मल र विषादीको प्रयोगमा व्यापकता आएपछि सारस देखिन छाडेका छन्, फाटफुट रूपमा पनि अरू चराजस्तो देखिएका छैनन् ।”
सारसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीका रूपमा राखिएको छभने अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ । तथ्याङ्कअनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै सारसको सङ्ख्या छ सय बढी रहेको छ । दक्षिण एसियामा भने यस चराको सङ्ख्या १० हजार जति रहेको अनुमान गरिएको छ ।