काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को एक महत्वपूर्ण तथा प्रतिस्पर्धात्मक खेलमा पन्जाब किङ्सले मुम्बई इन्डियन्समाथि ७ विकेटको शानदार जित दर्ता गर्दै पहिलो क्वालिफायरमा आफ्नो स्थान पक्का गरेको छ । मुम्बईले प्रस्तुत गरेको चुनौतीपूर्ण १८५ रनको लक्ष्य पन्जाबले ९ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा १८७ रन बनाउँदै सफलतापूर्वक भेट्टायो ।
पन्जाबको जितको आधार प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको उत्कृष्ट १०९ रनको साझेदारीले तयार पारेको थियो । विस्फोटक ब्याटिङ गरेका जोस इङ्लिसले ४२ बलमा ७३ रनको महत्त्वपूर्ण योगदान दिए भने प्रियांश आर्यले पनि आक्रामक ३५ बलमा ६२ रन जोड्दै जितको जग बसालेका थिए ।

यी दुवै उत्कृष्ट ब्याट्सम्यानलाई मुम्बईका माइकल सान्टनरले पेभिलियन फर्काएका थिए । मुम्बईका लागि जसप्रित बुमराहले किफायती बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर एक विकेट लिन सफल भए ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । मुम्बईका लागि अनुभवी ब्याट्सम्यान सूर्यकुमार यादवले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा अविजित २६ रन तथा नमन धिरले १२ बलमा २० रन जोड्दै टोलीलाई प्रतिस्पर्धी स्कोरसम्म पु¥याउन मद्दत गरेका थिए ।
यो जितसँगै पन्जाब किङ्सले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सीधै पहिलो क्वालिफायर खेल्ने अवसर पाएको छ भने पराजित मुम्बई इन्डियन्सले अब इलिमिनेटर खेल खेल्नुपर्ने भएको छ । लिग चरणको अन्तिम तथा निर्णायक खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच हुँदैछ । उक्त खेलको नतिजाले क्वालिफायर खेल्ने अर्को टोलीको टुङ्गो लगाउनेछ ।