काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै, बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसमी प्रणाली थप जटिल बनेको छ ।
यस मिश्रित प्रभावका कारण देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ । महाशाखाका अनुसार, हाल मधेस प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका विभिन्न पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छाएको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मनसुनको पछिल्लो अवस्थाः दक्षिण–पश्चिम मनसुन हाल अरब सागरको मध्य भूभाग, महाराष्ट्रका केही क्षेत्र, मुम्बई, कर्नाटक, बेङ्गलुरु, तमिलनाडुको बाँकी भूभाग, तेलङ्गना र आन्ध्र प्रदेशका केही भागसम्म सक्रिय भइसकेको छ । यसैगरी, पश्चिम–मध्य र उत्तरी बङ्गालको खाडीको केही क्षेत्र हुँदै त्रिपुरा, मणिपुर, नागाल्यान्ड, अरुणाचल प्रदेश, आसाम र मेघालयका केही भूभागसम्म मनसुन आइपुगेको छ । बङ्गालको खाडीबाट स्थलमार्गका बाँकी भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।
दिउँसोको पूर्वानुमानः देशभरका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुनसक्ने आँकलन गरिएको छ ।
रातिको पूर्वानुमानः मधेस, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका सीमित स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
सतर्कता अपनाउन आग्रहः देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्यत्र फाट्टफुट्ट रूपमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले यसले दैनिक जनजीवन, कृषि कार्य, नागरिकको स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्न सक्ने देखिएको छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।