अछाम । अछामको रामारोशन गाउँपालिकाले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने, मौका परीक्षा सञ्चालन गर्ने, प्रवेश परीक्षा अनिवार्य गर्ने र मदिरा सेवन गर्ने शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको १६ औं गाउँसभाले गरेको निर्णयअनुसार २०८२ सालको एसइइ परीक्षामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीलाई जनही २० हजार र ए ग्रेड ल्याउनेलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।

त्यस्तै, एसइइमा ननग्रेडेड विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्नुपर्ने र त्यसका लागि प्रत्येक विद्यालयलाई ५० हजार रुपैयाँ अनुदान दिने निर्णय समेत गरिएको छ । गाउँपालिकाले भनेको छ, ‘मौका परीक्षा पनि नियमित एसइइ परीक्षाको जस्तै मर्यादित हुने छ । अभिभावकबाट आवश्यक शिक्षण शुल्क समेत लिन सकिने व्यवस्था मिलाइनेछ ।’
गाउँपालिकाले आगामी २०८२ असार २१ गते शनिबारका दिन ग्रेडेड विद्यार्थीहरूको लागि सम्मान, पुरस्कार वितरण तथा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, विद्यालय सर्ने क्रममा विद्यार्थीले अनिवार्य रूपमा प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था लागू गरिने गाउँपालिकाले स्पष्ट पारेको छ ।
गुणस्तरीय शिक्षा प्रणालीलाई संस्थागत गर्ने उद्देश्यसहित चालु शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्मका सबै परीक्षा गाउँपालिका स्तरमै सञ्चालन गरिने निर्णय गरिएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया गाउँपालिकाको समन्वयमा हुनेछ ।
यसबाहेक, गाउँपालिकामा केही शिक्षकहरू कक्षा समयमा र सार्वजनिक स्थलमा मदिरा सेवन गर्दै आएको भन्ने गुनासो आएपछि, अबदेखि यस्तो प्रमाणित भएमा करार सम्झौता नवीकरण नगर्ने र विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।