काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी तोडमोड अक्षम्य अपराध भएको बताएका छन् । उनले घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले संसदीय इतिहासमै पहिलोपटक समितिबाट पारित भएको विषय संसदमा फेरिएको घटनाले लोकतान्त्रिक अभ्यासमै धक्का दिएको बताए ।

उनले भने, ‘हामीले सर्वसम्मतिले दुई वर्षको कुलिङ पिरियड राख्ने निर्णय गरेका थियौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट यही डकुमेन्ट पास भएको छ । तर प्रतिनिधि सभामा पास गर्दा त्यो हटाइएको छ। यो गम्भीर विषय हो, अक्षम्य गल्ती हो ।’
शर्माका अनुसार संसदमा प्रस्तुत गरिएको विधेयक समितिको सहमतिविपरीत रहेको र कसैको योजनाबद्ध चलखेलका कारण संशोधन बिना नै मूल मर्म परिवर्तन भएको देखिन्छ । उनले यो विषय संसदको साखसँग जोडिएको भन्दै सभामुखले आफैं गम्भीर छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘यो संसदीय इतिहासमै पहिलोपटक भएको अघोषित तोडमोड हो,’ उनले थपे, ‘सभामुखज्यूले यसबारे गम्भीरतापूर्वक छानबिन गराएर जो दोषी हुनुहुन्छ, उहाँलाई कारबाही गर्नुपर्छ । राष्ट्रिय सभाले पनि यो विषय सच्याउनुपर्छ ।’
शर्माले यो प्रकरणले समितिमा हुने बहस, सहमति र निर्णयहरूको मूल्य तथा पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको बताए । उनले विधेयक परिमार्जन नगरीकन उल्ट्याइने हो भने संसदको प्रक्रिया र संस्थामाथि जनविश्वास गुम्ने चेतावनी पनि दिए ।