काठमाडौं । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय दीपक देवकोटा नेसनल युथ पार्लियामेन्टको निर्वाचनमा विजयी भएका छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका देवकोटा राष्ट्रिय युवा पार्लियामेन्टद्वारा आयोजित निर्वाचनमा विजयी भएका हुन् ।

उनी विद्यार्थी राजनीतिमा एक परिचित अनुहारका रूपमा चिनिन्छन् । उनले आरआर क्याम्पसमा शैक्षिक सुधार तथा भ्रष्टाचारविरुद्धका विभिन्न आन्दोलनहरूमा अग्रणी भूमिका खेल्दै आएका छन् ।
विजयपछि प्रतिक्रिया दिँदै देवकोटाले मतदाताप्रति आभार प्रकट गर्दै यो जित आफू मात्रको नभई परिवर्तन चाहने सम्पूर्ण युवाहरूको जित भएको बताए ।
‘यो जित मेरो मात्र होइन, यो परिवर्तन चाहने, आवाज उठाउने, नयाँ राजनीति गर्ने सोच राख्ने सम्पूर्ण युवाहरूको जित हो,’ देवकोटाले भने, ‘अब म राष्ट्रिय मञ्चबाट युवाका नीतिगत मुद्दा र आवाजलाई सशक्त रूपमा उठाउने छु ।’
उनले शिक्षा, भ्रष्टाचार, बेरोजगारीजस्ता विषयमा युवाको दृष्टिकोण झल्काउने गरी क्रियाशील रहने प्रतिबद्धता पनि जनाएका छन् ।