अछाम । रामारोशन अनुदान शिक्षक संघर्ष समितिले रामारोशन गाउँपालिकाको शैक्षिक रुपान्तरण अभियानलाई लक्षित गरी नियोजित रूपमा भ्रम फैलाउने र दुव्र्याख्या गर्ने गतिविधि बढेको भन्दै कडा आपत्ति जनाएको छ ।
सोमबार समितिका अध्यक्ष रमेश व. साउँदद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई जोडेर अनावश्यक रूपमा मानमर्दन गर्न खोजिएको उल्लेख गरिएको छ ।

समितिले शिक्षाको गुणस्तर सुधार तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको गाउँपालिकाको शैक्षिक अभियानप्रति जनसमुदायबाट व्यापक स्वीकृति प्राप्त भएपछि केही अराजक तत्वलाई असहज भएको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षाको नाममा हुँदै आएको सकारात्मक कामबाट अत्तालिएका आपराधिक मानसिकताका व्यक्तिहरूले गाउँपालिका र अनुदान शिक्षकबीच द्वन्द्व सिर्जना गर्ने प्रयास गरेका छन्। यस्ता कार्यको हामी घोर भत्र्सना गर्दछौं ।’
समितिका अनुसार, अनुदान शिक्षकहरूबाट संघर्ष समिति सञ्चालनका लागि गरिएको लेवि संकलनबारेको सामान्य फोन सम्पर्कलाई नियोजित ढंगले विवादमा ल्याइएको छ । त्यस्तै, समितिका अध्यक्षमाथि समेत बदनाम गर्ने गरी भ्रम फैलाइएको भन्दै सो कार्यमा संलग्न व्यक्तिलाई तत्काल सेवाबाट हटाउन गाउँपालिकासँग माग गरिएको छ ।
‘शिक्षा अभियानलाई बदनाम गर्न गरिएको यो प्रपञ्च हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले शिक्षामा सुधार ल्याउने प्रयासको मनोबल घटाउने काम मात्र गर्छ ।’
समितिले रामारोशन गाउँपालिका सरकारलाई शिक्षाको क्षेत्रमा देखाएको अग्रसरता र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै शिक्षा सुधार अभियानलाई निरन्तरता दिन आग्रह गरेको छ ।