काठमाडौं । सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।
आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

संस्थाका प्रवक्ता किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि ३१ गतेसम्म महोत्सव आयोजना गरिने बताउनुभयो ।
उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको नेपालको पहिचान रक्षार्थ सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव आयोजना गर्न थालेको हो । यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा अन्य लोकप्रिय कलाकारहरू विशेष प्रस्तुति रहने जनाइएको छ ।
महोत्सवमा सहभागिताका लागि एक हजार तथा ५०० का टिकटको व्यवस्था गरिएको छ । टिकट संस्थानको कार्यालय र संस्थानको ‘वेबसाइट’मार्फत उपलब्ध जनाइएको छ ।